बाढी प्रभावित नुवाकोट पुगेर अवस्था बुझे प्रधानमन्त्री शाह, राहत र पुनःस्थापनामा तीव्रता दिन निर्देशन

समाचार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बाढीबाट प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौं फर्किएका छन्।

बिहीबार बिहान ९ः३० बजे सडकमार्ग हुँदै नुवाकोट पुगेका प्रधानमन्त्री शाहले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रत्यक्ष अवलोकन गरेका थिए। निरीक्षणका क्रममा उनले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग बाढीपछिको अवस्थाबारे जानकारी लिएका थिए।

प्रधानमन्त्री शाहले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, उद्धार कार्यलाई थप प्रभावकारी बनाउन तथा अवरुद्ध सडक र अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। साथै, पुनःस्थापनाको कामलाई तीव्रता दिनसमेत उनले आग्रह गरेका छन्।

प्रधानमन्त्रीसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्साल पनि निरीक्षणमा सहभागी थिए। बाढीपछि नुवाकोटसहित प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका काम जारी छन्।

प्रधानमन्त्रीको नुवाकोट भ्रमणले विपद्को प्रत्यक्ष अवस्था बुझ्दै राहत तथा पुनःस्थापनालाई प्राथमिकता दिने सरकारको प्रयासलाई थप बल दिएको छ।