गोरखाको चुमनुब्री गाउँपालिका–४, नाम्रुङमा आइतबार बिहान करिब ३ बजे आएको बाढीले चारवटा घर र वडा नं. ४ र २ जोड्ने फलामे पुलबगाएको छ।
बाढीले नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनका घर बगाएको प्रहरीले जनाएको छ। बाढीको संकेत पाएपछि स्थानीयहरू समयमै घरबाट निस्किएर सुरक्षित स्थानमा पुगेकाले मानवीय क्षति भने भएको छैन।
प्रारम्भिक अनुमानअनुसार मुहान क्षेत्रमा केही समय खोला थुनिएर लेदोसहित बाढी आएको हुनसक्ने प्रशासनले जनाएको छ। बिहान ४ः४० बजेपछि बाढीको बहाव घटेको र अहिले खोला सामान्य अवस्थामा फर्किएको बताइएको छ।
नाम्रुङ खोला बूढीगण्डकीमा मिसिने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।