अर्घाखाँचीमा श्रमिकमाथि कुटपिट, १३ जना घाइते; वडाध्यक्ष पक्राउ

अपराध

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–८, लात्तेबाँजमा कामका लागि पुगेका श्रमिक र स्थानीयबीच भएको विवादपछि कुटपिट हुँदा १३ जना घाइते भएका छन्।

भदौ २३ गते राति भएको घटनामा पाल्पाबाट काठको काम गर्न पुगेका श्रमिकसहित स्थानीय घाइते भएका हुन्। घाइतेमध्ये केहीलाई लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचारका लागि पठाइएको थियो।

घटनाबारे प्रहरीमा जाहेरी ढिलो परेको विषय संघीय संसद्मा समेत उठाइएको थियो। घटनाको अनुसन्धानका क्रममा भूमिकास्थान–८ का वडाध्यक्ष राजकुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

प्रहरीका अनुसार श्रेष्ठलाई घटनाबारे सोधपुछ तथा थप अनुसन्धानका लागि पक्राउ गरिएको हो। स्थानीय पक्षले भने घटनाको समयमा वडाध्यक्ष सन्धिखर्कमा रहेको दाबी गरेका छन्। घटनामा कसको कति संलग्नता थियो भन्ने विषय अनुसन्धानपछि मात्रै स्पष्ट हुनेछ।