काठमाडौं । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि सरकारले आवेदन आह्वान गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार सूचना प्रकाशित गर्दै अध्यक्ष पदमा नियुक्तिका लागि इच्छुक तथा योग्य उम्मेदवारबाट दरखास्त माग गरेको हो।
मन्त्रालयका अनुसार अध्यक्ष पदका लागि आवेदन दिन नेपाली नागरिक भएको, ३० वर्ष पूरा गरी ६५ वर्ष ननाघेको हुनुपर्नेछ। त्यस्तै, कुनै पनि विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र नेपाली चलचित्र उद्योगको स्थापना, विकास, संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनका क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको अनुभव हुनुपर्नेछ।
इच्छुक उम्मेदवारले २०८३ असोज ७ गते बुधबारसम्म तोकिएको प्रक्रियाअनुसार आवेदन दिन सक्नेछन्। प्राप्त आवेदनमध्येबाट मन्त्रालयले आवश्यक मूल्यांकन गरी उम्मेदवारको कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्तामार्फत तीन जनाको नाम छनोट गर्नेछ।
मन्त्रालयको सम्बन्धित समितिले छनोट गरेका तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिनेछ। मन्त्रिपरिषद्ले तीमध्ये एक जनालाई दुई वर्षका लागि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने कानुनी व्यवस्था छ।
यसअघि बोर्डका अध्यक्ष दिनेश डीसीको दुई वर्षे कार्यकाल गत भदौ ११ गते समाप्त भएको थियो। त्यसपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सहसचिव रविलाल शर्मालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ।
अब नयाँ अध्यक्षका लागि आवेदन खुलेसँगै नेपाली चलचित्र क्षेत्रको नेतृत्व सम्हाल्ने उम्मेदवार छनोट प्रक्रिया अघि बढेको छ।