केयूका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको निधन

समाचार साहित्य

काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति तथा नेपालको प्राविधिक र उच्च शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्व प्रा. डा. सुरेशराज शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ।

लिभरसम्बन्धी समस्याका कारण उपचाररत शर्माको बुधबार साँझ काठमाडौंस्थित ह्याम्स अस्पतालमा निधन भएको हो। स्वास्थ्य अवस्था जटिल बनेपछि उहाँलाई आईसीयूमा राखिएको थियो।

सिन्धुलीको खुर्कोटमा जन्मिएका शर्माले नेपालमा प्राविधिक तथा उच्च शिक्षाको विकासमा ऐतिहासिक योगदान पुर्‍याउनुभएको थियो। सीटीईभीटीका पहिलो कार्यकारी निर्देशक रहनुभएका उहाँ काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति पनि हुनुहुन्थ्यो। उहाँले सन् १९९१ देखि २०१२ सम्म लगातार २१ वर्ष विश्वविद्यालयको नेतृत्व गर्नुभएको थियो।

उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न आज बिहान कुसोम, बालकुमारी–ग्वार्कोमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ भने अन्तिम संस्कार पशुपति आर्यघाटमा गरिने जनाइएको छ।

नेपालको शिक्षा क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानका लागि प्रा. डा. शर्मालाई सधैं सम्मानपूर्वक स्मरण गरिनेछ।