नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता प्रकरणमा पतिविरुद्ध आजदेखि सुनुवाइ

प्रवास

अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता प्रकरणमा उनका पति नरेश भट्टविरुद्धको मुद्दाको सुनुवाइ आजदेखि सुरु हुँदैछ।

ममता सन् २०२४ मा भर्जिनियास्थित आफ्नो घरबाट बेपत्ता भएकी थिइन्। उनको अवस्था अझै अज्ञात छ र शवसमेत फेला परेको छैन।

नरेश भट्टमाथि प्रथम श्रेणीको हत्या, शव लुकाएको तथा शवको अपमान गरेको आरोप लगाइएको छ। अदालतमा आजदेखि सुरु हुने प्रक्रियामा जुरी छनोटपछि मुद्दासम्बन्धी प्रमाण र दुवै पक्षका तर्कहरू अघि बढ्नेछन्।

मुद्दा करिब सात सातासम्म चल्ने गरी समय छुट्याइएको छ। नरेशमाथिका आरोप अदालतबाट प्रमाणित हुन बाँकी छन् र उनी कानुनी रूपमा दोषी ठहर नभएसम्म निर्दोष मानिन्छन्।

ममता काफ्लेको परिवार र नेपाली समुदायले लामो समयदेखि सत्य र न्यायको प्रतीक्षा गरिरहेका छन्।