NPONLINETV
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको रूपान्तरण, सुशासन र आर्थिक समुन्नतिलाई प्राथमिकतामा राख्दै भावी राजनीतिक मार्गचित्र तयार गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनमा प्रस्तुत गर्ने तयारी गरिएको राजनीतिक प्रतिवेदनमा थापाले निर्वाचनमा गठबन्धन नगर्ने, एक व्यक्ति दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने र पार्टीलाई परिणाममुखी बनाउने प्रस्ताव अघि सारेका छन्।
‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’लाई मुख्य आधार बनाइएको प्रतिवेदनमा विगतका कमजोरी स्वीकार गर्दै नागरिकसँगको दूरी घटाउने, पार्टी संगठनलाई सुदृढ बनाउने र नेतृत्वलाई जवाफदेही बनाउने विषयलाई प्राथमिकता दिइएको छ।
थापाको प्रस्तावित रोडम्यापले कांग्रेसलाई परम्परागत राजनीतिक अभ्यासबाट बाहिर निकाल्दै सुशासन, पारदर्शिता, आन्तरिक लोकतन्त्र र विकासमुखी राजनीतितर्फ अघि बढाउने लक्ष्य राखेको छ।
निर्वाचनमा गठबन्धन नगर्ने र प्रधानमन्त्रीको कार्यकाल सीमित गर्ने प्रस्तावलाई कांग्रेसको भावी राजनीतिक दिशाका रूपमा हेरिएको छ। यद्यपि, यी प्रस्ताव महाधिवेशनबाट पारित हुन बाँकी छन्।