धरानमा प्रहरीको दुई राउन्ड हवाई फायर, २१० किलो गाँजासहित पाँच जना पक्राउ

समाचार


सुनसरीको धरान–२० च्यानडाँडाबाट प्रहरीले २१० किलो प्रतिबन्धित गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ।
सोमबार बिहान करिब ३ बजे गाँजा तस्करी भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेको अवस्थामा उनीहरूलाई फेला पारेको थियो।
प्रहरीलाई देखेपछि भाग्न खोज्दा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो। पक्राउ पर्नेमा चार नेपाली र एक भारतीय नागरिक रहेका छन्।
प्रहरीले गाँजा ओसारपसारमा प्रयोग गरिएका दुईवटा स्कार्पियोसमेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।