४० वर्ष पुरानो वैवाहिक सम्बन्ध टुट्न नदिने सुनीताको अठोट, भनिन्– ‘हामीलाई कसैले छुटाउन सक्दैन’

मनोरञ्जन


बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनीता आहूजाले आफ्नो करिब ४० वर्ष पुरानो वैवाहिक सम्बन्धबारे सकारात्मक धारणा व्यक्त गरेकी छन्।
हालै भारतीय सञ्चारमाध्यम पिंकभिल्लासँगको कुराकानीमा सुनीताले आफूहरूबीच अहिले समय अनुकूल नभए पनि यो सम्बन्ध सजिलै नटुट्ने बताएकी छन्।
‘हाम्रो विवाह भएको ४० वर्ष भइसक्यो, यो सम्बन्ध किन टिक्दैन र? अहिले उनी आफ्नो काममा छन्, म आफ्नो काममा व्यस्त छु। तर यो जीवनमा हामीलाई कसैले छुटाउन सक्दैन,’ उनले भनेकी छन्।
उनले आफ्नो भविष्य भगवान्को हातमा छाडेको बताउँदै गोविन्दासँगको सम्बन्धप्रति आशावादी रहेको पनि उल्लेख गरेकी छन्।
गोविन्दा र सुनीताको विवाह सन् १९८७ मा भएको थियो। उनीहरूका एक छोरा र एक छोरी छन्। पछिल्लो समय वैवाहिक सम्बन्धमा आएको उतारचढाव र सम्बन्धविच्छेदको चर्चाले यो जोडी लगातार समाचारमा रहँदै आएको छ।