इन्डोनेसियाको बान्टेन प्रान्तस्थित तीनतले क्यान्डी कारखानामा भीषण आगलागी हुँदा ठूलो मानवीय क्षति भएको छ।
नोभेम्बर २१ मा सुरु भएको आगलागीपछि उद्धारकर्मीले कारखानाबाट २४ वटा शवका झोला निकालेका छन्। तर ती झोलामा एकभन्दा बढी व्यक्तिका अवशेष हुन सक्ने भएकाले मृतकको यकिन संख्या अझै पुष्टि भएको छैन।
कारखाना व्यवस्थापनका अनुसार ६५ जना प्रभावित कामदारमध्ये २४ जना घर फर्किएका छन्, ४ जना अस्पतालमा उपचाररत छन्, २९ जना बेपत्ता छन् भने अन्य ८ जनाको अवस्था अझै अज्ञात छ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ। शवको पहिचानका लागि डीएनए परीक्षणसमेत गरिने भएको छ।
आगोले एउटा कारखाना मात्र होइन, कैयौँ परिवारको खुसीसमेत खोसेको छ।