सुरुङमा फसेकाको उद्धार युद्धस्तरमा गर्न कुलमान घिसिङको माग

समाचार

‘विपदमा दोषारोपण होइन, जीवन बचाउने बेला हो’

सुरुङमा फसेकाको उद्धार युद्धस्तरमा गर्न कुलमान घिसिङको माग

‘विपदमा दोषारोपण होइन, जीवन बचाउने बेला हो’

  • निमा पोङ्स्युवा

काठमाडौं । पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र पुनःस्थापनालाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेका छन्।

काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्पर–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क–बोगटीटार–कालिकास्थान हुँदै वैकल्पिक सडकबाट रसुवाको सदरमुकाम धुन्चे र धुन्चेबाट नुवाकोटको विदुरसम्म पुगेर बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको घिसिङले बताएका छन्।

स्थलगत अवलोकनका क्रममा घर, सडक, पुल, जलविद्युत् आयोजना तथा सार्वजनिक संरचनामा ठूलो क्षति पुगेको, परिवारहरू विस्थापित भएको र अझै नागरिकहरू सम्पर्कविहीन रहेको पाइएको उनले बताएका छन्। स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित पक्षसँग उद्धारका क्रममा देखिएका चुनौती, भइरहेका प्रयास र तत्काल गर्नुपर्ने कामबारे छलफल गरी आवश्यक सुझावसमेत दिएको उनको भनाइ छ।

घिसिङले विशेषगरी माथिल्लो त्रिशूली–३ ए, चिलिमे, रसुवागढी, माथिल्लो त्रिशूली–१, लाङटाङ र माथिल्लो त्रिशूली–३ बी लगायतका जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत विद्युत्गृहमा फसेकाहरूको तत्काल उद्धार गर्न माग गरेका छन्।

सुरुङ उद्धारमा दक्ष विज्ञ, प्राविधिक जनशक्ति तथा विशेष उद्धार टोली तत्काल परिचालन गर्नुपर्ने र अत्याधुनिक उपकरण तथा प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने उनले बताएका छन्। आवश्यक परे अन्तर्राष्ट्रिय उद्धार तथा प्राविधिक टोलीलाई समेत तत्काल अनुमति दिन सरकारसँग आग्रह गरेका छन्।

त्यस्तै, नदीको माथिल्लो क्षेत्र, पहाडी भेग तथा जोखिमपूर्ण स्थानमा फसेका नागरिकको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धार टोलीबीच प्रभावकारी समन्वय गरी विशेष अभियान सञ्चालन गर्नुपर्ने उनको माग छ।

शव व्यवस्थापन र सडक सम्पर्कलाई प्राथमिकता

घिसिङले टिमुरे, बेत्रावतीलगायत क्षेत्रमा बाढीका कारण मृत्यु भएका नागरिकका शव यत्रतत्र रहेको भन्दै शव खोजी, संकलन, पहिचान तथा सम्मानपूर्वक व्यवस्थापनका लागि विशेष टोली तत्काल परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले त्रिशूली बजारदेखि बेत्रावतीसम्म अस्थायी ट्र्याक खोली बेलिब्रिज जडान गरेर धुन्चेसम्म सडक सम्पर्क पुनःस्थापित गर्नुपर्ने बताएका छन्।

त्यस्तै, त्रिशूलीको बट्टार क्षेत्र र त्रिशूलीपारि जोड्ने, बेत्रावतीबाट माथिल्लो त्रिशूली–३ बी जोड्ने तथा धुन्चे–स्याफ्रुबेंसी जोड्ने स्थानमा बेलिब्रिज छिटो जडान गरी नदीपारिका गाउँलाई सडक सञ्जालमा जोड्नुपर्ने उनको माग छ।

प्रभावित क्षेत्रमा तत्काल राहत पुर्‍याउन माग

बाढी प्रभावित परिवारलाई खाद्यान्न, खानेपानी, औषधि, अस्थायी आवास, कपडालगायत अत्यावश्यक सामग्री तत्काल पुर्‍याउनुपर्ने घिसिङले बताएका छन्।

रसुवाका कतिपय बाढी प्रभावित क्षेत्रमा अझै पर्याप्त राहत सामग्री पुग्न नसकेको भन्दै उनले स्थानीय तहसँग प्रभावकारी समन्वय गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। होल्डिङ सेन्टरमा रहेका महिला तथा बालबालिकाका लागि मनोपरामर्शसहित विशेष व्यवस्था गर्नुपर्ने उनको माग छ।

पुनःस्थापनाका लागि स्पष्ट योजना आवश्यक

घिसिङले तत्कालीन उद्धार र राहतसँगै क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा अन्य पूर्वाधारको पुनर्निर्माणका लागि स्पष्ट योजना बनाउनुपर्ने बताएका छन्।

मानवीय तथा भौतिक क्षति व्यहोरेका व्यक्ति तथा परिवारलाई क्षतिपूर्ति र विस्थापित परिवारको पुनःस्थापनाका लागि संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट कार्ययोजना, जिम्मेवारी र आवश्यक बजेट तत्काल व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

‘यो बेला दोषारोपण गर्ने होइन, जीवन बचाउने बेला हो’ भन्दै घिसिङले विपद्को कठिन घडीमा राज्यका सबै संयन्त्रलाई एकीकृत रूपमा परिचालन गरी प्रत्येक नागरिकको जीवनरक्षा गर्न सरकारसँग जोडदार माग गरेका छन्।

उनले उद्धारमा ढिलाइ र राहतमा कमी हुन नदिन तथा कुनै पनि पीडित नागरिकले आफूलाई राज्यविहीन र एक्लो महसुस गर्ने अवस्था आउन नदिन सरकारलाई आग्रह गरेका छन्।

उज्यालो नेपाल पार्टी पीडित नागरिकको साथमा दृढतापूर्वक उभिएको र उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सरकारलाई पूर्ण साथ र सहयोग रहने प्रतिबद्धतासमेत घिसिङले व्यक्त गरेका छन्।