बीपी प्रतिष्ठान भन्छ– ‘PICU बेड खाली नभएकाले अन्यत्र रिफर गरियो

स्वास्थ्य

धरान । इटहरी–१ निवासी ८ वर्षीया अशवाना चौहानको सर्पदंशबाट मृत्यु भएको घटनाप्रति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रतिष्ठानद्वारा जारी विज्ञप्तिअनुसार भदौ २४ गते सर्पले टोकेर अर्धचेत अवस्थामा ल्याइएकी बालिकालाई बच्चा आकस्मिक कक्षमा तत्काल उपचार सुरु गरिएको थियो। उपचारका क्रममा चिकित्सक टोलीले इन्टुबेसन, एन्टी–स्नेक भेनम, नर्मल सलाइनलगायत आवश्यक उपचार गरेको र मुटुको धड्कन कमजोर भएपछि सीपीआरसमेत दिइएको जनाएको छ।

प्रतिष्ठानका अनुसार बालिकाको अवस्था अत्यन्त गम्भीर रहेकाले थप उच्चस्तरीय सघन उपचार आवश्यक थियो। तर बाल सघन उपचार कक्ष (PICU) मा बेड खाली नरहेकाले उक्त अवस्था आफन्तलाई जानकारी गराइएको थियो।

विज्ञप्तिमा सोही दिन साँझ अक्सिजनसहितको एम्बुलेन्समार्फत ‘ब्याग एण्ड मास्क’ प्रयोग गरी सावधानीपूर्वक अन्य स्वास्थ्य संस्थामा रिफर गरिएको उल्लेख गरिएको छ।

बालिकाको मृत्युपछि उपचार प्रक्रियामाथि विभिन्न प्रश्न उठिरहेका बेला प्रतिष्ठानले आफूहरूले उपलब्ध स्रोत, साधन र चिकित्सकीय मापदण्डअनुसार तत्काल उपचार सेवा प्रदान गरेको दाबी गरेको छ।

यस घटनाले देशभर बाल सघन उपचार कक्ष (PICU) को अभाव तथा सर्पदंश उपचार व्यवस्थापनको चुनौतीलाई पुनः उजागर गरेको छ।