बालापनको रक्षा : भविष्यको सुरक्षा’ नारासहित आज राष्ट्रिय बाल दिवस मनाइँदै

समाचार

काठमाडौं । ‘बालापनको रक्षा : भविष्यको सुरक्षा’ भन्ने नाराका साथ आज नेपालमा राष्ट्रिय बाल दिवस मनाइँदैछ। हरेक वर्ष भदौ २९ गते मनाइने यो दिवसले बालबालिकाको अधिकारको सम्मान, संरक्षण, प्रवर्द्धन र सुनिश्चितताका लागि राज्य, परिवार, नागरिक समाज तथा सबै सरोकारवालालाई जिम्मेवार बन्न आह्वान गर्छ।

यस वर्षको बाल दिवस भने हालैको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको अवस्थाका कारण थप संवेदनशील बनेको छ।

भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको थियो। बाढीमा केही बालबालिकाले अभिभावक तथा संरक्षक गुमाएका छन् भने कतिपय बालबालिका आफैँ घाइते, बेपत्ता वा परिवारबाट छुट्टिन पुगेका छन्।

राष्ट्रिय बाल अधिकार परिषद्ले विपद्बाट प्रभावित बालबालिकाको उद्धार, राहत, संरक्षण, अस्थायी संरक्षण, परिवारको खोजतलास तथा पुनर्मिलन र मनोसामाजिक सहयोगलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ।

परिषद्का अनुसार विपद्का कारण परिवारबाट छुट्टिएका वा अभिभावक गुमाएका बालबालिका हिंसा, शोषण, बेचबिखन तथा ओसारपसारको जोखिममा पर्न सक्ने भएकाले उनीहरूको सर्वोत्तम हितलाई केन्द्रमा राखेर संरक्षणका काम अघि बढाउन आवश्यक छ। (

प्राकृतिक विपद्मा परेका बालबालिकाका लागि सुरक्षित आश्रय, पोषणयुक्त खाना, स्वच्छ पानी, सरसफाइ तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन पनि परिषद्ले आग्रह गरेको छ। त्रसित तथा विस्थापित बालबालिकाका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्नेमा समेत जोड दिइएको छ।

परिषद्ले बाढी प्रभावित बालबालिकालाई व्यक्तिगत वा संस्थागत रूपमा अनुमति बिना अन्यत्र लैजानसमेत रोक लगाएको छ। अभिभावकविहीन वा अस्थायी संरक्षण आवश्यक भएका बालबालिकालाई सम्बन्धित स्थानीय बाल अधिकार समिति, बाल कल्याण अधिकारी र राष्ट्रिय बाल अधिकार परिषद्को समन्वयमा मात्र संरक्षणको व्यवस्था गर्नुपर्ने जनाएको छ।

यस अवसरमा राष्ट्रिय बाल अधिकार परिषद्लगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले बाल अधिकार केन्द्रित कार्यक्रम आयोजना गर्दैछन्।

परिषद्ले यस वर्षको दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई विपद् प्रभावित बालबालिकाको सुरक्षा, संरक्षण र भविष्य सुनिश्चित गर्ने अवसरका रूपमा मनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ।