डेटा सेन्टरमा र्‍यान्समवेयर आक्रमणपछि रोकिएको नेप्से कारोबार आजबाट खुल्ने

विज्ञान/प्रविधि समाचार

काठमाडौं । ७२ वटा ब्रोकर कम्पनीको ट्रेडिङ प्रणाली होस्ट गरिएको Data Hub Pvt. Ltd. को डेटा सेन्टरमा र्‍यान्समवेयर आक्रमण भएपछि सोमबार रोकिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सेयर कारोबार आज मंगलबारबाट पुनः सञ्चालन हुने जानकारी आएको छ।

डेटा हबको पूर्वाधारमा भएको साइबर आक्रमणका कारण ट्रेड म्यानेजमेन्ट सिस्टम (TMS), CDSC सम्बन्धी प्रणाली, भुक्तानी गेटवे लगायतका अन्तरसम्बन्धित सेवामा असर परेको थियो। जोखिम बढ्न नदिन प्रभावित प्रणालीहरू अलग राखेर सुरक्षा तथा ‘क्लिनअप’ प्रक्रिया अघि बढाइएको थियो।

डेटा हबका अनुसार आक्रमण हुनुअघि करिब बिहान ४ बजे पूर्ण ब्याकअप सुरक्षित र अलग स्थानमा राखिएको थियो। प्रभावित प्रणालीमा फरेन्सिक जाँच तथा सुरक्षा परीक्षणपछि मात्रै पुनः सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको बताइएको छ।

सोमबार कारोबार रोकिएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले घटनाबारे जाँचबुझ गरी नेप्सेलाई सेप्टेम्बर २८ सम्म प्रतिवेदन तथा भविष्यमा यस्ता समस्या दोहोरिन नदिनका लागि सुझाव पेश गर्न निर्देशन दिएको छ।

यस घटनाले नेपालको सेयर बजारको साइबर सुरक्षा, डेटा सुरक्षा र वैकल्पिक प्रणालीको आवश्यकताबारे पनि प्रश्न उठाएको छ।