काठमाडौं । नेकपाका सांसद रमेश कुमार मल्लले गणेश नेपालीको आत्मदाहपछि विकसित घटनाक्रम, मिडिया हाउसअगाडि गरिएको गाडी पार्किङ तथा नागरिकमाथि भएको भनिएको धरपकडबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद मल्लले २५ वर्षीय गणेश नेपालीको निधनले देशलाई स्तब्ध बनाएको उल्लेख गर्दै घटनालाई तोडमोड गर्ने प्रयास भइरहेको आरोप लगाए। उनले सत्यतथ्य सार्वजनिक गर्न सरकारले निष्पक्ष अनुसन्धान अघि बढाउनुपर्ने बताए।
उनले पछिल्ला दिनमा काठमाडौंका विभिन्न स्थानमा भएका सडक अवरोध, मिडिया हाउसअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गर्ने तथा राजनीतिक गतिविधिका नाममा भएका घटनाको पनि गम्भीर छानबिन हुनुपर्ने धारणा राखे।
सांसद मल्लले मिडिया हाउसअगाडि गाडी पार्किङ गर्ने र प्रमुख प्रतिपक्षी नेताको निवास खोज्दै जानेजस्ता गतिविधिलाई गम्भीर सुरक्षा चुनौतीका रूपमा व्याख्या गर्दै यस्ता घटनामा संलग्न व्यक्तिलाई सामान्य जरिवानामात्र नभई कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने बताए।
उनले राज्यले त्रास र सन्त्रासको वातावरण सिर्जना गरेर शासन सञ्चालन गर्न नहुने उल्लेख गर्दै घटनामा संलग्न व्यक्ति र योजनाकारको छिटो अनुसन्धान गरी कानुनी कारबाही गर्न सरकारसँग आग्रह गरे। साथै, सत्तारूढ दलले विज्ञप्ति जारी गरेर मात्र जिम्मेवारी पूरा नहुने भन्दै घटनालाई गम्भीरतापूर्वक लिएर आवश्यक कदम चाल्नुपर्ने धारणा व्यक्त गरे।