काठमाडौं । पत्रकार पक्राउ प्रकरणको चौतर्फी आलोचनापछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ।
रास्वपा सभापति रवि लामिछानेले शनिबार बिहान ११ बजेका लागि बैठक आह्वान गरेका हुन्। बैठकमा समसामयिक राजनीतिक विषयसँगै पत्रकार पक्राउ प्रकरणबारे छलफल हुने बताइएको छ।
शुक्रबार प्रहरीले विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई नियन्त्रणमा लिनुका साथै समाचार कक्षमै प्रवेश गरेपछि घटनाको चौतर्फी आलोचना भएको थियो।
घटनापछि सरकार र रास्वपाले आफूहरूलाई घटनाबारे जानकारी नभएको भन्दै वक्तव्य जारी गरेका थिए।
पत्रकार पक्राउ प्रकरणले राजनीतिक वृत्तमा समेत चर्चा पाएपछि रास्वपाले सचिवालय बैठक बोलाएको हो।