दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय अभियान चलाइने

राजनीति समाचार

काठमाडौं । दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय जनचेतना अभियान सञ्चालन गर्ने विषयमा उपसभामुख रुबीकुमारी ठाकुर र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सिता बादीबीच छलफल भएको छ।

बुधबार मन्त्रालयमा भएको छलफलमा अभियान मधेश प्रदेशबाट सुरु गरी चरणबद्ध रूपमा देशभर विस्तार गर्ने सहमति भएको छ।

सरकारले स्थानीय तह, विद्यालय, समुदाय, धार्मिक तथा सामाजिक अगुवा, युवा र महिला समूहको सहभागितामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ।

उपसभामुख ठाकुरले दाइजोमुक्त समाज निर्माणका लागि सबै तहको समन्वय र सहकार्य आवश्यक रहेको बताइन्। मन्त्री बादीले दाइजो प्रथा कानुनी मात्र नभई सामाजिक समस्या भएकाले यसको अन्त्यका लागि राज्य, समुदाय, सञ्चारमाध्यम र नागरिक समाजको साझा प्रयास आवश्यक रहेको बताइन्। साथै, कानुनको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा पनि उनले जोड दिइन्।