काठमाडौं — स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधान गर्न सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको छ।
बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा विभिन्न मन्त्रालयका प्रतिनिधि र चिकित्सक संघका पदाधिकारीबीच भएको छलफलपछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो।
सहमतिअनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, आवश्यक निर्देशिका छिट्टै जारी गर्ने, स्वास्थ्य संस्थामा हुने तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणमा कडा कानुनी कारबाही गर्ने र सुरक्षा सुदृढ गर्न कार्ययोजना बनाएर संयुक्त कार्यदल गठन गर्ने प्रतिबद्धता जनाएको छ।
सहमतिसँगै नेपाल चिकित्सक संघले आफ्ना सबै आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गर्दै देशभर नियमित स्वास्थ्य सेवा सञ्चालन गर्ने घोषणा गरेको छ।