काठमाडौं | अन्तर्राष्ट्रिय समाचार
रुस–युक्रेन युद्धको क्रममा रुसी मिसाइल आक्रमणमा एउटा खुट्टा गुमाएकी १० वर्षीया युक्रेनी रिदमिक जिम्नास्ट साशा पास्काल अहिले आफ्नो पीडा, संघर्ष र आशालाई नृत्यमार्फत संसारसामु प्रस्तुत गरिरहेकी छन्।
सन् २०२२ मे महिनामा, रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण थालेको करिब तीन महिनापछि, साशा आफ्नी आमा मारियासँग युक्रेनको दक्षिणपश्चिमी ओडेसा क्षेत्रस्थित समुद्री गाउँ जातोकामा घरमै थिइन्। समुद्र किनार घुम्न निस्कने तयारी भइरहेका बेला अचानक आएको रुसी मिसाइलले उनीहरूको घरलाई ध्वस्त बनायो।
आक्रमणअघि कुनै हवाई आक्रमणको साइरन बजेन्, न कुनै चेतावनी नै दिइएको थियो। केही सेकेन्डमै मिसाइलले घरमा प्रहार गर्दा भवन पूर्ण रूपमा भग्नावशेषमा परिणत भयो।
विस्फोटबाट आमा मारिया पनि केही समयका लागि बेहोस भएकी थिइन्। पछि घटनाको सम्झना गर्दै उनले म्युजियम अफ सिभिलियन भ्वाइसेस सँग भनिन्, “साशा पेटको बल लडेकी थिइन्। उनको खुट्टामाथि ठूलो र अत्यन्तै भारी कंक्रिटको स्ल्याब खसेको थियो। उनको एउटा हातको जोर्नी उखेलिएको थियो, हड्डी बाहिर देखिन्थ्यो, औँला झुन्डिएको अवस्थामा थियो र टाउकोभरि गम्भीर चोट लागेको थियो।”
गम्भीर घाइते भएकी साशाको ज्यान त बच्यो, तर उनको एउटा खुट्टा बचाउन भने सम्भव भएन। त्यसयता उनले कृत्रिम खुट्टाको सहायताले पुनः हिँड्न र आफ्नो जीवनलाई नयाँ ढंगले अघि बढाउन संघर्ष गरिरहेकी छन्।
कहिल्यै हार नमान्ने साशाले आफ्नो सबैभन्दा ठूलो सपना—जिम्नास्टिक र कला—छोडिनन्। अहिले उनी नृत्यमार्फत युद्धले बालबालिकाको जीवनमा पारेको पीडा, साहस र आशाको सन्देश विश्वभर फैलाइरहेकी छन्। उनको प्रस्तुति धेरैका लागि प्रेरणाको स्रोत बनेको छ।
युद्धले हजारौं बालबालिकाको जीवनमा गहिरो घाउ छोडेको छ। साशा पास्कालको कथा भने ती पीडाबीच पनि साहस, आत्मविश्वास र पुनःउत्थान सम्भव हुन्छ भन्ने शक्तिशाली उदाहरण बनेको छ।