काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासी जनजातिले लामो संघर्षबाट प्राप्त गरेका अधिकारको समेत प्रभावकारी रूपमा सदुपयोग गर्न नसकेको बताएका छन्।
३२औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजित राष्ट्रिय परामर्श गोष्ठीमा बोल्दै अध्यक्ष मगरले अझै धेरै अधिकार प्राप्त गर्न बाँकी रहे पनि पाइसकेका अधिकारलाई प्रभावकारी रूपमा कार्यान्वयन र उपयोग गर्न नसकिएको बताए।
उनले आदिवासी जनजातिको राजनीतिक प्रतिनिधित्व पछिल्ला वर्षमा घट्दै गएको भन्दै यसप्रति गम्भीर हुनुपर्ने बताए। उनका अनुसार २०६४ सालको संविधानसभामा जनसंख्याको आधारमा आदिवासी जनजातिको प्रतिनिधित्व बलियो रहे पनि अहिले घटेर करिब २४ प्रतिशतमा पुगेको छ। राष्ट्रियसभामा भने प्रतिनिधित्व करिब १०–११ प्रतिशत मात्रै रहेको उनले उल्लेख गरे।
अध्यक्ष मगरले आदिवासी जनजातिका अधिकार सहजै प्राप्त नभएको भन्दै अग्रजहरूको लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई कमजोर रूपमा नलिन आग्रह गरे।
उनले नीति निर्माण तहमा रहेका आदिवासी जनजाति सांसदहरूले आफ्नो समुदायका अधिकारका विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताए।
साथै उनले आदिवासी जनजातिको मौलिक भाषा, संस्कृति, परम्परा र पहिचान संरक्षणमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै राज्यका निकायले परम्परागत औपचारिकताभन्दा माथि उठेर नयाँ र प्रभावकारी ढंगले काम गर्नुपर्नेमा जोड दिए।