काठमाडौं, असोज ११ — ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा सोमबार अपराह्न स्थिति अत्यन्तै तनावपूर्ण बनेको छ।
सुत्केरी महिलाको मृत्यु भएको घटनापछि अस्पताल परिसरमा भीड जम्मा भएपछि अवस्था बिग्रिएको हो। आक्रोशित भीडले ढुंगामुढा र तोडफोड गरेपछि केही व्यक्ति घाइते समेत भएका छन्।
आफन्तहरूले अस्पतालको लापरबाहीका कारण मीना राईको मृत्यु भएको आरोप लगाउँदै आज पनि प्रदर्शन गरेका छन्। घटनापछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ र अस्पताल परिसरलाई घेरेर सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।
गत शुक्रबार सुत्केरी गराउने क्रममा मीना राईको ज्यान गएको थियो। घटनापछि अस्पताल प्रशासनमाथि निष्क्रियता र उपचारमा गम्भीर लापरबाहीको आरोप लगाइएको छ।
मृतकका आफन्त र स्थानीयहरूले ‘मीनालाई न्याय देऊ’ र ‘अस्पताल बन्द गर’ भन्ने मागसहित प्रदर्शन गर्दा प्रहरीलाई भिड नियन्त्रण गर्न कठिनाइ भइरहेको बताइएको छ।