२० वर्षको अन्तर्राष्ट्रिय अनुभवपछि काठमाडौं बाहिर रोबोटिक सर्जरी सुरु गर्दै डा. प्रतीकमान

स्वास्थ्य

बेलायत र अमेरिकामा दुई दशकभन्दा बढी समय युरोलोजी तथा रोबोटिक सर्जरीमा काम र प्रशिक्षण लिएपछि नेपाल फर्किएका डा. प्रतीकमानसिंह गुरुङले काठमाडौं बाहिर रोबोटिक सर्जरी सेवा विस्तार गरेका छन्।

१६ वर्षको उमेरमै छात्रवृत्तिमा लन्डन पुगेका डा. गुरुङले छात्रवृत्तिमै एमबीबीएसदेखि पीएचडीसम्मको अध्ययन पूरा गरेका थिए। बेलायत र अमेरिकामा लामो समय विशेषज्ञका रूपमा काम गरेपछि उनी पाँच वर्षअघि नेपाल फर्किएका हुन्।

उनकै नेतृत्वमा चितवन मेडिकल कलेजमा काठमाडौं उपत्यकाबाहिर पहिलोपटक रोबोटिक सर्जरी सेवा सुरु भएको हो। सेवा सुरु भएपछि हालसम्म ५० भन्दा बढी रोबोटिक शल्यक्रिया गरिसकिएको कलेजले जनाएको छ।

रोबोटिक प्रविधिबाट शल्यक्रिया गर्नुका साथै डा. गुरुङले नेपालका अन्य सर्जनलाई समेत यस प्रविधिबारे प्रशिक्षण दिइरहेका छन्। उनका अनुसार रोबोटिक सर्जरीमा परम्परागत शल्यक्रियाको तुलनामा रक्तस्राव र पीडा कम हुने, बिरामी छिटो निको हुने तथा संक्रमणको जोखिम घट्ने फाइदा छन्।

रोबोटिक सर्जरीका लागि आवश्यक प्रविधि महँगो भए पनि उपचार खर्च आम बिरामीको पहुँचभन्दा बाहिर नजाओस् भन्ने आफ्नो प्राथमिकता रहेको डा. गुरुङ बताउँछन्।

काठमाडौं केन्द्रित विशेषज्ञ सेवा देशका अन्य सहरमा पनि विस्तार गर्ने र आधुनिक शल्यचिकित्सालाई सर्वसाधारणको पहुँचमा पुर्‍याउने उनको लक्ष्य छ।