“एसियाली विकास बैंकबाट नेपाललाई १० करोड अमेरिकी डलरको सहुलियतपूर्ण ऋण”

राजनीति विश्व समाचार

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई १० करोड अमेरिकी डलर, अर्थात् करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।

सार्वजनिक वित्त व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यसहित प्रदान गरिने उक्त ऋण सहयोगसम्बन्धी सम्झौता आज औपचारिक रूपमा सम्पन्न भएको हो।अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त ऋण सम्झौतामा हस्ताक्षर गरिएको छ। यो ऋण नीतिगत सहायता स्वरूप प्रदान गरिएको अर्थ मन्त्रालयले जनाइएको छ।

सहुलियतपूर्ण ऋणको ग्रेस अवधि ८ वर्ष हुनेछ, र कुल भुक्तानी अवधि २४ वर्षको तय गरिएको छ। सन् २०३४ फेब्रुअरी १ सम्म ग्रेस अवधि रहने यस ऋणको प्रारम्भिक ब्याजदर १ प्रतिशत हुनेछ, जुन ग्रेस अवधिपछि १.५ प्रतिशतमा परिवर्तन हुनेछ।ऋण सम्झौतामा अर्थ सचिव डा. घनश्याम उपाध्याय र एडीबीको नेपालस्थित आवासीय नियोगका निर्देशक आनो कुश्वाले हस्ताक्षर गरे।

कार्यक्रममा सहसचिव डा. धनीराम शर्माले नेपालको खर्च र वित्तीय व्यवस्थापन तथा अन्तरसरकार स्रोत व्यवस्थापनमा सुधार ल्याउने उद्देश्य रहेको बताए।

एडीबीका नेपाल निर्देशक कुश्वा र अर्थ सचिव उपाध्यायले सहकार्यलाई निरन्तर र थप प्रभावकारी ढंगले अघि बढाउने आफ्नो प्रतिबद्धता व्यक्त गरे।

यस कार्यक्रमको उद्देश्य नेपालको सार्वजनिक वित्तीय व्यवस्थापनमा सुधार ल्याउँदै सार्वजनिक स्रोतहरूको प्रभावकारी उपयोग गरी सेवा प्रवाहलाई मजबुत बनाउनु रहेको छ।

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए अनुसार, यस कार्यक्रमले वित्तीय अनुशासन कायम राख्न, बजेट निर्माण र खर्च व्यवस्थापनमा सुधार गर्न, स्थानीय सरकारलाई थप सशक्त बनाउन र समग्र विकास परिणामलाई नतिजामुखी बनाउन मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।