जेनजी आन्दोलनको तीन महिनापछि एमनेस्टी इन्टरनेशनल नेपालले त्यतिबेलाको दमन र बल प्रयोगबारेको एक प्रतिवेदन सार्वजनिक गर्यो । चेतावनी सहित संयमतापूर्वक गैरघातक बल प्रयोग गर्नुपर्नेमा युद्धकालमा प्रयोग हुने हतियारहरूको अन्धाधुन्ध प्रयोगलाई एमनेस्टीले ‘गैरकानूनी काम’ भनेको छ । एमनेस्टी इन्टरनेशनल नेपालका निर्देशक निराजन थपलियासँग प्रतिवेदनका विषयवस्तुमा केन्द्रित भएर अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको कुराकानीको सम्पादित अंश :
धकेलाधकेल भइसकेपछि त्यहाँ ब्यारिकेड ढलेको छ, अनि प्रहरीले एक्कासी बल प्रयोग गरेको देखिएको छ । प्रहरीले पानीको फोहोरा सहित बल प्रयोग गरेको देखिएको छ । पानीको फोहोरा प्रयोग भएलगत्तै अश्रुग्यास प्रहार भएको देखिएको छ ।
उहाँहरूले अलिकति संयमता अपनाएर पछाडि हटेको भए हुने थियो । संसद भवन संवेदनशील संरचना थियो, त्यसलाई जोगाउन हामीले बल प्रयोग गर्न बाध्य हुनुपरेको थियो भन्ने संकथन उहाँहरूले बाहिर ल्याइराख्नु भएको छ ।
प्रदर्शनकरीलाई बानेश्वर चोकसम्म जानदिने अवस्था बनाएर उहाँहरूले त्यो भवनको लागि थप सुरक्षा गरेको भए त्यो अवस्था नआउन सक्थ्यो । प्रहरीले एभरेष्ट होटल अगाडि आफ्नो नियन्त्रण गुमायो । लगभग १२ हजार प्रदर्शनकारीहरू त्यहाँ भेला भएको अवस्थामा हुनुपर्ने संख्यामा प्रहरीको तैनाथी र परिचालन थिएन ।
त्यसपछि उहाँहरूले आत्तिएर बल प्रयोग भएको भन्ने खालको कुरा गर्नुभएको छ । क्रमैसँग बल प्रयोग हुनुपर्नेमा एकाएक बल प्रयोग भएकाले अवस्था बिग्रिएको देखिन्छ । उहाँहरूले शुरुमै सामान्य बल प्रयोग गर्नुपर्नेमा एकाएक कम घातक भनिने बल प्रयोग गरेर त्यसको दुरुपयोग गरेको पायौं ।
त्यो प्रदर्शनमा कतिपय केटाकेटी थिए । १४ वर्षका बालबालिकाहरू पनि पुगेका थिए । पानीको प्रयोग गर्ने क्रममा त्यो कुरालाई ख्याल राख्नुपर्ने थियो । प्रदर्शनमा को संलग्न थिए भन्ने कुरालाई पनि ख्यालमा राख्न आवश्यक छ ।
बालबालिका भएको अवस्थामा त अझ विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ । हामीले फोटो र भिडियोहरू विश्लेषण गर्दा देख्यौं, रेलिङमा अड्किइराखेको अवस्थामा उनीहरूलाई ताकेर पानीको फोहोरा प्रयोग गरिएको थियो, त्यहाँ कम बल प्रयोगको दुरुपयोग भयो ।