राजनीति समाचार

जेन–जीको नाममा देश विध्वंस गर्नेहरूलाई कडा कारबाही होस्’ : रविलक्ष्मी चित्रकार


जेन–जी आन्दोलनको नाममा भएको आगजनी घटनामा गम्भीर घाइते हुनुभएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्नुभएको छ।

लामो समयको उपचारपछि क्रमशः स्वास्थ्य सुधार हुँदै गएको बताउँदै चित्रकारले उक्त घटनालाई हिटलरको ग्यास च्याम्बरसँग तुलना गर्नुभयो। जेन–जीको नाम र अवोधपनलाई ढाल बनाएर देशमा विध्वंस मच्चाउने तत्वहरूलाई सरकारले चाँडो पहिचान गरी सजाय दिनुपर्ने उहाँको भनाइ छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले जेन–जी आन्दोलनको आडमा हिंसात्मक गतिविधि भएको उल्लेख गर्नुभयो। यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई तुरुन्तै पहिचान गरी कारबाही गर्न सरकारसँग आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो, “मैले किताबमा मात्र पढेको हिटलरको ग्यास च्याम्बर आज आफैंले भोग्नुपर्‍यो। जेन–जीका भाइबहिनीहरूको अवोधपनको मुखुण्डो लगाएर देशलाई तहसनहस पार्नेहरूलाई सरकारले छिट्टै चिनेर कारबाही गर्नुपर्छ।”

पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि घटनाप्रति दुःख व्यक्त गर्दै उपचार प्रक्रिया अझै पूरा हुन बाँकी रहेको बताउनुभयो। घरसहित सम्पूर्ण सम्पत्ति जलेर नष्ट भएपछि उपचार अगाडि बढाउन कठिनाइ भएको उहाँको भनाइ छ।

“उपचार अझै बाँकी छ, तर सबै जलेर खरानी भएपछि उपचार कसरी अघि बढाउने भन्ने प्रश्न खडा भएको छ,” उहाँले भन्नुभयो।

गत भदौमा डल्लुस्थित खनाल दम्पतीको निवासमा जेन–जी आन्दोलनका क्रममा आगजनी भएको थियो। उक्त घटनामा रविलक्ष्मी चित्रकार गम्भीर घाइते हुनुभएको थियो भने घर पूर्ण रूपमा ध्वस्त भएको थियो।

उपचारका लागि भारत लगिनुभएकी चित्रकारको स्वास्थ्य अवस्था अहिले क्रमशः सुधार हुँदै गएको बताइएको छ। उहाँको पछिल्लो अभिव्यक्तिले जेन–जी आन्दोलनसँग जोडिएका हिंसात्मक गतिविधि र दोषीमाथि कारबाहीको विषयलाई पुनः राजनीतिक तथा सामाजिक बहसको केन्द्रमा ल्याएको छ।