ञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनमा उम्मेदवारी दिने–नदिने विषयमा आफूले अहिलेसम्म कुनै निर्णय नगरेको स्पष्ट गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने चर्चा चलिरहेका बेला मन्त्री खरेलले सो सम्बन्धमा कुनै निष्कर्षमा नपुगेको बताउनुभएको हो । बुधवार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले आफू र वर्तमान सरकारको सम्पूर्ण ध्यान निष्पक्ष र सफल निर्वाचन सम्पन्न गराउन केन्द्रित रहेको उल्लेख गर्नुभयो ।
कुनै पनि दलसँग चुनाव लड्ने विषयमा छलफल नगरेको अवस्थामा सञ्चारमाध्यममा गलत समाचार आएको भन्दै मन्त्री खरेलले असन्तुष्टि जनाउनुभयो ।
उहाँले भन्नुभयो, “आज म यहाँमार्फत स्पष्ट गर्न चाहन्छु—मैले अहिलेसम्म चुनाव लड्ने वा नलड्ने कुनै निर्णय गरेको छैन । साथै, म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन, कुनै किसिमको वार्ता वा छलफल पनि गरेको छैन । न जाने भनेको छु, न आउने । अहिले मेरो सम्पूर्ण ध्यान अन्तरिम सरकारका सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न गराउने जिम्मेवारीमै केन्द्रित छ । तर केही सञ्चारमाध्यममा फरक ढंगले समाचार आइरहेका छन् । त्यसप्रति मेरो गुनासो छैन, तर सही तथ्य जनतासमक्ष पुग्न आवश्यक छ । त्यसैले फेरि दोहोर्याएर भन्छु—मैले चुनाव लड्ने वा नलड्ने कुनै निर्णय गरेको छैन ।”
मन्त्री खरेलले देश निर्वाचनको संवेदनशील चरणमा रहेकाले सञ्चारमाध्यमहरूलाई जिम्मेवार भई सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।