सुनसरी, साउन ११ — सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समुदायबीच भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन्।
प्रहरीका अनुसार साउन महिनाको बोलबम यात्राका क्रममा डिजे बजाउने विषयलाई लिएर दुई समुदायबीच विवाद सुरु भएको थियो। सामान्य भनाभन केहीबेरमै उग्र झडपमा परिणत भएपछि दुवै पक्षका मानिसहरू ढुंगा, लाठी, बाँस, चिर्पट तथा भालाजस्ता सामग्रीसहित घटनास्थलमा पुगेका थिए।
स्थिति नियन्त्रणमा लिन प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। ढुंगामुढा तीव्र भएपछि प्रहरीले प्रारम्भिक रूपमा तीन राउन्ड हवाई फायर गरेको जनाएको छ। त्यसलगत्तै सशस्त्र प्रहरीतर्फबाट गोली चलेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। गोली किन चल्यो र कति राउन्ड प्रहार भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गोली लागेर घाइते भएका देवानगञ्ज–४ का ३० वर्षीय ओमप्रकाश मेहताको उपचारका लागि विराटनगर लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घटनामा ९ जना सर्वसाधारण घाइते भएका छन्, जसमा एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
झडपमा नेपाल प्रहरीका प्रहरी निरीक्षक राकेश राईसहित ८ जना तथा सशस्त्र प्रहरीका ५ जना घाइते भएका छन्। प्रहरी निरीक्षक राईको टाउकोमा चोट लागेको छ भने अन्य सुरक्षाकर्मीको अवस्था सामान्य रहेको जनाइएको छ।
घटनापछि सुनसरी प्रशासनले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्दै सुरक्षा व्यवस्था कडा बनाएको छ। हाल दुवै समुदायलाई अलग राखी स्थिति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले थप जनधनको क्षति हुन नदिन सुरक्षा सतर्कता बढाउने निर्णय गरेको छ। प्रशासनले अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न र संयम अपनाउन सबै पक्षसँग आग्रह गरेको छ।