लगानी बोर्डकी सीईओ याङ्की उक्याबको राष्ट्रियतामाथि प्रश्न उठेपछि हिमाली आदिवासी समुदायको असन्तुष्टि

समाचार

काठमाडौं । सूचीकृत आदिवासी वालुङ समुदायबाट प्रतिनिधित्व गर्दै नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएकी याङ्की उक्याबको राष्ट्रियतामाथि सामाजिक सञ्जालमा प्रश्न उठाइएपछि हिमाली आदिवासी समुदायले त्यसप्रति आपत्ति जनाएको छ।

समुदायका सदस्यहरूले हिमाली तथा सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले कुनै महत्वपूर्ण जिम्मेवारी वा अवसर प्राप्त गर्नेबित्तिकै नागरिकता र पुस्तौंदेखिको पारिवारिक विवरण सार्वजनिक गर्दै आफ्नो नेपाली पहिचान प्रमाणित गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताएका छन्। उनीहरूले यस्तो प्रवृत्तिलाई विभेदपूर्ण भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

यसअघि पनि हुम्लाकी टाशी ल्हाजोम र पूर्व गृहमन्त्री सुधन गुरुङमाथि समेत यस्तै प्रकारका प्रश्न उठेको उल्लेख गर्दै हिमाली आदिवासी समुदायले त्यतिबेला प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर यस्ता विभेदपूर्ण व्यवहार रोक्न माग गरेको स्मरण गराएको छ।

याङ्की उक्याबका बुबा पूर्व अञ्चलाधीश रहेको र उनी ताप्लेजुङका स्थायी बासिन्दा रहेको बताइएको छ। समुदायका अगुवाहरूले कुनै व्यक्तिको अनुहार, भाषा, थर वा भौगोलिक पृष्ठभूमिका आधारमा राष्ट्रियतामाथि शंका गर्ने प्रवृत्तिले संविधानले सुनिश्चित गरेको समानताको अधिकारमाथि नै प्रश्न उठाउने बताएका छन्।

यस विषयमा सम्बन्धित निकाय वा याङ्की उक्याब स्वयंले भने हालसम्म सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।