काठमाडौं । वरिष्ठ गायक आनन्द कार्कीले पारिश्रमिक नपाएको विषयमा दिएको अभिव्यक्ति चर्चामा आएपछि गायक दुर्गेश थापाले लिखित सहमति पत्र सार्वजनिक गर्दै स्पष्टीकरण दिएका छन्।
दुर्गेशका अनुसार ‘दुश्मन हेरेको हेर्यै’ गीतमा सहकार्य गरेका कलाकारहरूले गीत सार्वजनिक हुनुअघि नै सहमतिअनुसार पारिश्रमिक प्राप्त गरिसकेका थिए। उनले यससम्बन्धी हस्ताक्षरयुक्त सहमति पत्रसमेत सार्वजनिक गरेका छन्।
२०८१ भदौ १५ गते सार्वजनिक उक्त गीतमा दुर्गेश थापासँगै आनन्द कार्की, एलिना चौहान र समीक्षा अधिकारीको स्वर रहेको छ।
अर्को गीतको प्रसङ्गमा भने दुर्गेशले चलचित्रका लागि तयार पारिएको गीतको भुक्तानी र व्यवस्थापनको जिम्मेवारी सम्बन्धित चलचित्र निर्माण पक्षको हुने बताएका छन्।
दुर्गेशले आफ्नो स्पष्टीकरण कसैलाई आरोप लगाउन नभई वास्तविकता स्पष्ट पार्न ल्याएको बताएका छन्। साथै, अग्रज कलाकारप्रति आफ्नो सम्मान सधैँ कायम रहने उनको भनाइ छ।