धवलशमशेर र प्रसाईं अलग्गिए, अब छुट्टाछुट्टै पार्टी बनाउँदै

राजनीति

काठमाडौं — नयाँ राजनीतिक शक्ति निर्माणका लागि सहकार्यको तयारीमा रहेका धवलशमशेर राणा र दुर्गा प्रसाईंबीच सहमति जुट्न नसकेपछि उनीहरू छुट्टाछुट्टै राजनीतिक दल गठन गर्ने तयारीमा पुगेका छन्।

राणा र प्रसाईंले यसअघि संयुक्त रूपमा ‘जय नेपाल पार्टी’ गठन गर्ने तयारी गरेका थिए। तर पार्टीको नेतृत्व, संगठनात्मक संरचना तथा अन्य राजनीतिक विषयमा सहमति हुन नसकेपछि सहकार्य टुंगिएको हो।

राणाले शुक्रबार ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरेका छन्। प्रसाईंको सहमति नलिई राणाले पार्टी दर्ताको प्रक्रिया अघि बढाउन लागेको बताइएको छ।

यता प्रसाईंले पनि आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले प्रस्तावित पार्टीलाई सबै नेपाली, जातजाति र धर्मको साझा राजनीतिक शक्ति बनाउने दाबी गरेका छन्।

प्रसाईंले वैदिक सनातन हिन्दु अधिराज्य, पीडित नागरिकका अधिकार र न्यायलाई आफ्नो प्रस्तावित राजनीतिक दलका प्रमुख मुद्दा बनाउने बताएका छन्।

राणा र प्रसाईं अलग-अलग राजनीतिक बाटोमा अघि बढेसँगै राजावादी तथा वैकल्पिक राजनीतिक धारमा नयाँ शक्ति समीकरणबारे बहस सुरु भएको छ। यसअघि भने दुवै नेताको सहकार्यमा ‘जय नेपाल पार्टी’ गठन हुने तयारी गरिएको थियो।

दुवै पक्ष अलग भएपछि प्रस्तावित नयाँ दलहरूको संगठन विस्तार, नेतृत्व संरचना र आगामी राजनीतिक रणनीतिले उनीहरूको प्रभाव कति रहनेछ भन्ने निर्धारण गर्ने देखिन्छ।