रियाद — यमनका हुथी विद्रोहीबाट साउदी अरबका तेल ट्यांकर तथा पूर्वाधारमाथि आक्रमणको जोखिम बढेपछि साउदी अरबले लाल सागर हुँदै गर्ने कच्चा तेल निर्यातलाई थप गोप्य बनाउन थालेको छ।
रिपोर्टअनुसार, साउदी अरबको यान्बु बन्दरगाहबाट तेल बोकेर जाने केही ट्यांकरले आफ्नो स्थान देखाउने स्वचालित पहिचान प्रणाली (एआईएस) बन्द गर्न थालेका छन्। यसले समुद्री मार्गमा जहाजको वास्तविक आवागमन पहिचान गर्न कठिन भएको छ। (Reuters)
हुथीहरूले जुलाई २० मा साउदी अरबविरुद्ध समुद्री नाकाबन्दीको घोषणा गरेपछि साउदीसँग सम्बन्धित ट्यांकर तथा तेल पूर्वाधारलाई लक्षित गरी आक्रमणको दाबी गरेका छन्। यान्बु बन्दरगाह र जाजान रिफाइनरी आसपासको सुरक्षा जोखिम पनि बढेको बताइएको छ।
सुरक्षा जोखिम बढेसँगै साउदी अरबले तेल निर्यातका लागि वैकल्पिक मार्गको प्रयोग पनि बढाएको छ। यान्बुबाट युरोपतर्फ जाने तेल स्वेज नहर हुँदै पठाउन सकिने भएकाले उत्तरी मार्गको उपयोग बढेको छ भने एसियातर्फ जाने केही ढुवानी लाल सागरको दक्षिणी भाग तथा बाब अल-मन्देब क्षेत्रमा जोखिममा पर्न सक्ने देखिएको छ।
यसैबीच, जोखिमका कारण धेरै ठूला कच्चा तेलवाहक जहाजले बाब अल-मन्देब जलडमरूमध्य हुँदै यात्रा गर्नबाट जोगिन थालेका छन्। समुद्री मार्गको अनिश्चितताले युद्ध जोखिम बीमा शुल्कसमेत बढाएको छ।
लाल सागरमा बढ्दो सुरक्षा चुनौतीले विश्वव्यापी तेल आपूर्तिमाथि समेत दबाब बढाउने चिन्ता छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले मध्यपूर्वमा जारी द्वन्द्व र होर्मुज तथा लाल सागर क्षेत्रमा भएको ढुवानी अवरोधका कारण २०२६ मा विश्वव्यापी तेल आपूर्ति उल्लेखनीय रूपमा घट्न सक्ने प्रक्षेपण गरेको छ।
साउदी अरबको तेल निर्यातमा लाल सागरको मार्ग थप महत्वपूर्ण बन्दै गएको अवस्थामा हुथी आक्रमणको जोखिमले विश्व बजारमा तेल आपूर्ति, ढुवानी लागत र मूल्यमा थप अस्थिरता ल्याउन सक्ने देखिएको छ।