हुम्लामा ५२ लाख रुपैयाँ बराबरको अवैध मदिरा बरामद

अपराध


प्रहरीले नाम्खा गाउँपालिका–२ नावलथाङबाट करिब ५२ लाख रुपैयाँ बराबरको अवैध चिनियाँ मदिरा र बडवाइजर बियर बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार ५९४ कार्टुनमा ७ हजार १२८ बोतल चिनियाँ मदिरा र १९४ कार्टुनमा ४ हजार ६५६ बोतल बडवाइजर बरामद गरिएको हो। यसको अनुमानित मूल्य ५१ लाख ९३ हजार ६ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

लुकाइछिपाइ राखिएको अवस्थामा बरामद गरिएको मदिरा कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाको रोहबरमा नष्ट गरिने प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले बताएका छन्।