भोटेकोशी बाढी : सम्पर्कविहीनका आफन्तलाई भेट्न बट्टार पुगे गृहमन्त्री गुरुङ
नुवाकोट — भोटेकोशी बाढीपछि आफन्त सम्पर्कविहीन भएपछि नुवाकोटको बट्टारस्थित नेपाली सेनाको ब्यारेकमा पर्खिरहेका परिवारजनलाई गृहमन्त्री सुधन गुरुङले भेटेका छन्।
बाढी प्रभावित क्षेत्रबाट सम्पर्कविहीन भएका आफन्तको अवस्था बुझ्न ब्यारेकमा भेला भएका परिवारजनसँग गृहमन्त्री गुरुङले भेट गर्दै सरकारले खोज तथा उद्धारलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताए।
आफ्ना परिवारका सदस्यको अवस्था अझै थाहा हुन नसकेको भन्दै केही आफन्तले गृहमन्त्रीसमक्ष आक्रोश र गुनासोसमेत पोखेका थिए। उनीहरूले तत्काल खोजी तथा उद्धारलाई थप तीव्र बनाउन आग्रह गरेका थिए।
जवाफमा गृहमन्त्री गुरुङले सरकारले समयमै उद्धार गर्ने प्रयास गरिरहेको र बाढी प्रभावित क्षेत्रमा देखिएका भौगोलिक, सञ्चार तथा अन्य चुनौतीका कारण उद्धारमा कठिनाइ भइरहेको अवस्थाबारे परिवारजनलाई जानकारी गराएका थिए।
भोटेकोशी बाढीपछि रसुवा, नुवाकोटलगायत प्रभावित क्षेत्रमा सुरक्षा निकाय तथा सरकारी संयन्त्रले खोज, उद्धार र राहत कार्यलाई निरन्तरता दिइरहेका छन्। सरकारले सम्पर्कविहीन व्यक्तिको विवरण संकलन तथा परिवारसँग समन्वयका लागि छुट्टै संयन्त्रसमेत परिचालन गरेको जनाएको छ।
बाढीपछि अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको भन्दै परिवारजनले आफ्ना आफन्तको खोजी तत्काल तीव्र बनाउन सरकारसँग माग गरिरहेका छन्।