काठमाडौं — आन्तरिक राजश्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन पुरस्कार’ कार्यक्रमअन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) तुल पुडासैनीले जितेका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा साउन महिनाको दोस्रो चरणको पुरस्कार घोषणा गरिएको हो। उक्त चरणमा १६ दिनका लागि दैनिक एक–एक जना उपभोक्ता तथा सबै सहभागीमध्येबाट एक जना बम्पर विजेता गरी कुल १७ जना छनोट गरिएको थियो।
बम्पर विजेता बनेका पुडासैनीले मोबाइलको कभर र स्क्रिनको सिसा फेर्दा तिरेको मात्र ३५० रुपैयाँको कारोबारबाट १० लाख रुपैयाँको पुरस्कार जित्न सफल भएका हुन्।
बाराको सिमरा घर भएका पुडासैनी हाल बागमती प्रदेश प्रहरी गण, हेटौँडामा कार्यरत छन्। उनले मोबाइल मर्मतका लागि विभिन्न पसलमा बुझ्दै अन्ततः गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सर्भिसबाट सेवा लिएको र सोही कारोबारको बिल पुरस्कारका लागि छनोट भएको बताए।
“मोबाइलको कभर र सिसा फेर्न दुई–तीन वटा पसल पुगेको थिएँ। अन्ततः गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सर्भिसमा काम गराएँ। त्यहीँको ३५० रुपैयाँको बिलबाट १० लाख रुपैयाँको बम्पर उपहार परेको खबर पाएँ,” पुडासैनीले भने।
करदाता प्रोत्साहन कार्यक्रममार्फत उपभोक्तालाई बिल लिने बानीको विकास गर्न तथा कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउन सरकारले यस्तो योजना सञ्चालन गर्दै आएको छ।