एसएसपी लालबाबु गिरी नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको भ्रष्टाचार मुद्दामा दोषी ठहर

अपराध

नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरी नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालतले बिहीबार गिरीलाई दोषी ठहर गर्दै ५ हजार रुपैयाँ जरिवाना सुनाएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार गिरीले सन् १९८८ मा भारतको बिहार स्कुल एक्जामिनेसन बोर्ड, पटनाबाट एसएलसी उत्तीर्ण गरेको भन्दै प्रमाणपत्र पेस गरेका थिए। अनुसन्धानका क्रममा उक्त प्रमाणपत्रमा उल्लेखित रोल नम्बर ७१८ को अभिलेख बिहार बोर्डमा नभेटिएको र सो वर्षको अभिलेखमा क्रम संख्या ५७६ सम्म मात्रै रहेको पुष्टि भएको थियो। 

उक्त प्रमाणपत्रका आधारमा गिरीले त्रिभुवन विश्वविद्यालयबाट पीसीएल नर्सिङ तथा पूर्वाञ्चल विश्वविद्यालयबाट पोस्ट बेसिक ब्याचलर इन नर्सिङ अध्ययन गरेको र त्यही शैक्षिक योग्यताको आधारमा नेपाल प्रहरीमा प्रवेश गरी बढुवा हुँदै एसएसपीसम्म पुगेको अख्तियारको अनुसन्धानमा उल्लेख छ।