काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढी तथा पहिरोपछि खानेपानीका मुहान र वितरण प्रणालीमा क्षति पुग्दा रसुवामा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढेको छ। जोखिम न्यूनीकरणका लागि सरकारले रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाएको छ।
विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पुर्याइएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम नियन्त्रण गर्न औषधि, खोप, स्वास्थ्य सामग्री तथा आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिएकी छन्।
मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउनेसँगै रोगको निगरानी बढाउने, सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम अघि बढाइएको छ।
बाढीका कारण खानेपानीका स्रोत र वितरण संरचनामा क्षति पुगेपछि दूषित पानीबाट फैलिने रोगको जोखिम बढेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ। त्यसैले प्रभावित क्षेत्रमा रोगको रोकथाम, शीघ्र पहिचान र समयमै उपचारलाई प्राथमिकतामा राखिएको छ
यसैबीच, सशस्त्र प्रहरी बलले पनि बाढी प्रभावित तथा विस्थापित शिविरमा पानीजन्य रोग फैलिन नदिन आपतकालीन खानेपानी शुद्धीकरण तथा औषधि वितरणको काम सुरु गरेको जनाएको छ।
बाढीपछि प्रभावित क्षेत्रमा सुरक्षित खानेपानीको उपलब्धता, सरसफाइ र स्वास्थ्य निगरानीलाई प्रभावकारी बनाउन सके हैजा तथा अन्य संक्रामक रोगको सम्भावित प्रकोप नियन्त्रण गर्न महत्वपूर्ण हुने स्वास्थ्य क्षेत्रका अधिकारीहरूको जोड छ।