काठमाडौं — दुबईबाट तेल अभिभतर्फ उडिरहेको फ्लाई दुबईको उडान FZ1073 मा ककपिटभित्र भएको हिंसात्मक घटनाका क्रममा साहस देखाएको भन्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भारतीय पाइलट क्याप्टेन स्मित मच्छारको प्रशंसा गरेका छन्।
सेप्टेम्बर ३० मा भएको घटनाका क्रममा सहपाइलटले क्याप्टेन मच्छारमाथि चक्कु प्रहार गरेको र विमान अचानक तीव्र रूपमा तल झरेको बताइएको छ। गम्भीर घाइते अवस्थामा समेत मच्छारले ककपिटको ढोका खोल्न सफल भएका थिए। त्यसपछि केही यात्रु तथा चालक दलका सदस्य ककपिटमा प्रवेश गरी आक्रमणकारीलाई नियन्त्रणमा लिन सफल भएका थिए।
नेतन्याहुले सामाजिक सञ्जालमार्फत मच्छारको साहसको प्रशंसा गर्दै उनलाई ‘सच्चा नायक’ भनेका छन्। उनले मच्छारले देखाएको साहसका कारण विमानमा रहेका १७४ जनाको ज्यान जोगिएको बताएका छन्।
घटनापछि विमानले साउदी अरबको तबुक विमानस्थलमा आपत्कालीन अवतरण गरेको थियो। विमानमा रहेका सबै यात्रु सुरक्षित रहेको फ्लाई दुबईले जनाएको छ। पछि यात्रुहरूलाई अर्को उडानमार्फत तेल अभिभ पुर्याइएको थियो।
घटनाको वास्तविक कारण र सहपाइलटको उद्देश्यबारे अनुसन्धान जारी छ। इजरायलले विदेशी विमानका पाइलटहरूको सुरक्षा जाँच थप कडा बनाउने तयारी गरेको Reuters ले जनाएको छ।