रुकुम पश्चिम — आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विक हिरासतमा घाइते भएपछि थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल लगिएको छ।
प्रहरी हिरासतमा रहेका विकलाई बुधबार बिहान करिब ३ बजे सुर्खेत ल्याइएको हो। उनको टाउको, अनुहार र घाँटीमा चोट लागेको बताइएको छ। हाल उनको प्रदेश अस्पतालमा उपचार भइरहेको छ।
विकलाई प्रहरीले एक निर्माण व्यवसायीलाई धम्की दिई रकम मागेको उजुरीका आधारमा उनका भाइलाई पक्राउ गर्न खोज्दा प्रहरीको काममा अवरोध गरेको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार उनीविरुद्ध राष्ट्रसेवक कर्मचारीलाई काममा बाधा–अवरोध गरेको आरोपमा अनुसन्धान भइरहेको छ।
यता, नेपाली कम्युनिस्ट पार्टी रुकुम पश्चिमले भने विकलाई प्रहरी हिरासतमै कुटपिट गरिएको आरोप लगाएको छ। पार्टीले छलफलका लागि भन्दै प्रहरी कार्यालयमा बोलाएर पक्राउ पुर्जीबिनै हिरासतमा राखी कुटपिट गरिएको दाबी गरेको छ।
पार्टीका जिल्ला संयोजक गोविन्द रोका र सहसंयोजक सुरज परियारले जारी गरेको विज्ञप्तिमा विकलाई तत्काल रिहा गर्न, निःशुल्क उपचारको व्यवस्था गर्न तथा कुटपिटमा संलग्न प्रहरीमाथि कानुनी कारबाही गर्न माग गरिएको छ। साथै घटनाको निष्पक्ष छानबिन गर्न पनि माग गरिएको छ।
घटनामा प्रहरी र पार्टीको दाबी फरक–फरक रहेकाले वास्तविकता थप अनुसन्धानपछि स्पष्ट हुने देखिएको छ।