सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गर्ने एक जना पक्राउ

अपराध

धनुषा — सामाजिक सञ्जालमा हिंसा फैलाउन उक्साउने तथा विभिन्न व्यक्ति, समुदाय र सङ्घसंस्थाको मानमर्दन हुने गरी गालीगलौज र आपत्तिजनक शब्द प्रयोग गर्दै धम्की दिएको भिडियो पोस्ट गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार लक्ष्मीनियाँ गाउँपालिका–१ निवासी करिब २० वर्षीय राज यादवलाई २०८३ असोज २७ गते राति ११ बजे जनकपुरधाम उपमहानगरपालिका–९ बाट नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार यादवले सामाजिक सञ्जाल टिकटकमा आपत्तिजनक शब्द प्रयोग गर्ने, गालीगलौज गर्ने तथा धम्की दिने किसिमका भिडियो पोस्ट गरेको पाइएको छ। उनीमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यसैगरी, सामाजिक सञ्जालको दुरुपयोग गरी हिंसा फैलाउन उक्साउने, व्यक्ति तथा समुदायको मानमर्दन हुने सामग्री पोस्ट गर्ने र धम्की दिने आरोपमा अन्य चार जनामाथि पनि अनुसन्धान तथा कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।