कपिलवस्तु — कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। उनी चढेर हिँडेको मोटरसाइकल जंगलमा भेटिए पनि सिंहको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ।
सिंहको खोजीका लागि प्रहरीले शुक्रबार राति अबेरसम्म स्थानीय तथा आफन्तको सहयोगमा विभिन्न क्षेत्रमा खोजी गरेको थियो। राति करिब १ः३० बजेसम्म खोजी गर्दा पनि फेला नपरेपछि शनिबार बिहानदेखि पुनः खोजी अभियान तीव्र पारिएको हो।
इलाका प्रहरी कार्यालय गोरुसिङ्गेको नेतृत्वमा प्रहरी टोलीले गोरुसिङ्गे जंगल तथा ढेकहरी आसपासका क्षेत्रमा खोजी गरिरहेको छ। स्थानीय बासिन्दा र आफन्तसमेत खोजीमा सहभागी छन्।
प्रहरीका अनुसार सिंहले ढेकहरी क्षेत्रमा व्यावसायिक फार्म सञ्चालन गर्ने तयारी गरिरहेका थिए र त्यसक्रममा उनी यसअघि पनि उक्त क्षेत्रमा पटक–पटक जाने गरेका थिए।
हालसम्म सिंह सम्पर्कविहीन हुनुको कारणबारे कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन। प्रहरीले सम्भावित सबै कोणबाट खोजी तथा अनुसन्धान अघि बढाएको जनाएको छ।