काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या ५.६ प्रतिशतले घटेको छ।
वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा नयाँ र पुनः श्रम स्वीकृतिसहित कुल ७ लाख ९२ हजार १८७ श्रम स्वीकृति जारी भएको छ। यो अघिल्लो आर्थिक वर्षको ८ लाख ३९ हजार २६६ को तुलनामा ४७ हजार ७९ ले कम हो।
विभागका अनुसार समीक्षा अवधिमा अमेरिका–इरान द्वन्द्वका कारण खाडी मुलुकतर्फको हवाई उडान प्रभावित हुँदा कामदारको प्रस्थानमा पनि असर परेको थियो।
गत वर्ष श्रम स्वीकृति लिनेमध्ये ६ लाख ९७ हजार ९६ पुरुष र ९५ हजार ९१ महिला रहेका छन्। कुल श्रम स्वीकृतिमध्ये ८८ प्रतिशत पुरुष र १२ प्रतिशत महिला छन्।
म्यानपावर कम्पनीमार्फत विदेश जाने नेपालीको संख्या पनि घटेको छ। गत वर्ष २ लाख ६८ हजार ९९० जना म्यानपावरमार्फत विदेश गएका थिए, जबकि अघिल्लो वर्ष यो संख्या ३ लाख ५९ हजार ६७५ थियो।
देशगत रूपमा यूएई नेपाली कामदारको सबैभन्दा ठूलो गन्तव्य बनेको छ। त्यसपछि मलेसिया, कतार, साउदी अरेबिया र कुवेत रहेका छन्। यी पाँच देशमा मात्रै कुल श्रम स्वीकृतिको करिब ७८ प्रतिशत नेपाली कामदार गएका छन्।
युरोपतर्फ भने रोमानिया नेपाली कामदारको प्रमुख गन्तव्य बनेको छ भने त्यसपछि जापान, ओमान, साइप्रस र बहराइन रहेका छन्।