काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगारी क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताएका छन्।
मंगलबार ताहचलस्थित वैदेशिक रोजगार विभागको अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले नयाँ प्रणाली लागू भएपछि म्यानपावर कम्पनीमा आवेदन दिन, अन्तर्वार्तामा सहभागी हुन वा अन्य प्रक्रियाका लागि काठमाडौं आउनुपर्ने बाध्यता हट्ने बताए।
उनले वैदेशिक रोजगारसम्बन्धी ऐन संशोधनको तयारी भइरहेको जानकारी दिँदै छिट्टै मन्त्रिपरिषद् र संसद्बाट पारित गरी पूर्ण डिजिटल प्रणाली लागू गरिने बताए।
मन्त्री यादवले भने, “वैदेशिक रोजगारी क्षेत्रमा सुधारका लागि ऐन संशोधन गर्दैछौं। सबै प्रक्रिया डिजिटल हुनेछ, जसका कारण आवेदन दिन काठमाडौं धाउनुपर्ने अवस्था रहने छैन।”
वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरूलाई कडा चेतावनी दिँदै उनले नेपाल प्रहरी, अनुसन्धान निकाय र वैदेशिक रोजगार विभागबीचको समन्वयमा जहाँ लुकेर बसे पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारे।
उनले भने, “डिजिटल युग सुरु भइसकेको छ। वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरू जहाँ लुके पनि कानुनी कारबाहीबाट उम्कन सक्दैनन्।”
मन्त्री यादवका अनुसार हालको कानुनी व्यवस्थाअनुसार केही सेवा डिजिटल माध्यमबाट सञ्चालन भइरहेका छन्। ऐन संशोधनपछि वैदेशिक रोजगारीका अधिकांश सेवा पूर्ण रूपमा अनलाइनमार्फत उपलब्ध गराइनेछन्।