काठमाडौं । लोकतान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)मा इबोला संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार संक्रमण नयाँ क्षेत्रमा फैलिने क्रम जारी छ।
डीआर कंगो सरकारका अनुसार हालसम्म २,४२३ जनामा इबोला संक्रमण पुष्टि भएको छ। तीमध्ये ९६७ जनाको मृत्यु भएको छ भने ४६९ जना निको भएका छन्। हाल ७३४ जना उपचार वा निगरानीमा छन्।
संक्रमणका कारण १२१ जना स्वास्थ्यकर्मी पनि प्रभावित भएका छन्। तीमध्ये ३६ जनाको मृत्यु भएको छ। इबोला अहिले पाँच प्रान्तका ४७ स्वास्थ्य क्षेत्रमा फैलिएको छ, जसमा ४६ क्षेत्रमा संक्रमण अझै सक्रिय छ।
डब्ल्यूएचओका अनुसार द्वन्द्व, विस्थापन, जनसंख्याको धेरै आवतजावत र सीमापार आवागमनका कारण संक्रमण नियन्त्रण गर्न कठिन भइरहेको छ। संक्रमण थप फैलिन नदिन डीआर कंगो र युगान्डाले सीमा क्षेत्रमा संयुक्त रूपमा निगरानी र परीक्षणलाई तीव्र बनाएका छन्।