काठमाडौं । पुराण वाचिका राधिका दासीविरुद्ध विभिन्न आरोप सार्वजनिक गर्दै सामाजिक सञ्जालमा विवाद सिर्जना गरिरहेकी वेदिका केसी साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेकी छन्।
आफूलाई धार्मिक अभियन्ता बताउने २२ वर्षीया केसीले केही दिनयता सामाजिक सञ्जालमार्फत राधिका दासीविरुद्ध लगातार विभिन्न आरोप लगाउँदै आएकी थिइन्। उनले राधिकाको अघोषित श्रीमान् रहेको, काठमाडौं र भारतमा घर बनाएको तथा कथावाचनबाट संकलित रकम हिनामिना गरेकोलगायतका आरोप सार्वजनिक गरेकी थिइन्।
राधिका दासीले भने ती सबै आरोप निराधार र झुट्टा भएको बताउँदै आफ्नो चरित्रहत्या गरिएको आरोपसहित साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्।
वेदिका केसीले आफूसँग आरोप पुष्टि गर्ने पर्याप्त प्रमाण रहेको दाबी गर्दै आए पनि हालसम्म सार्वजनिक रूपमा कुनै प्रमाण प्रस्तुत गरेकी छैनन्।
साइबर ब्यूरोमा परेको उजुरीका आधारमा प्रहरीले केसीलाई पक्राउ गरेको हो। अदालतले प्रारम्भिक अनुसन्धानका लागि उनलाई एक दिन हिरासतमा राख्न अनुमति दिएको छ।
स्रोतका अनुसार जाहेरवाली राधिका दासीले उजुरी दिए पनि केसीलाई थुनामा नराखी सहमतिमार्फत विषय टुंग्याउन चाहेको बताइएको छ। तर, फौजदारी प्रकृतिको मुद्दामा जाहेरी दर्ता भइसकेपछि प्रहरीले मिलापत्र गराउन नमिल्ने जानकारी दिएको स्रोतको भनाइ छ। त्यसपछि उक्त विषय सरकारी वकिलको कार्यालयमा पनि राखिएको बुझिएको छ।
प्रहरीले अनुसन्धानका लागि १० दिनको म्याद थप माग गरेको भए पनि अदालतले हाल एक दिनको मात्रै म्याद दिएको छ। साइबर ब्यूरो स्रोतका अनुसार केसीलाई शुक्रबार पुनः सरकारी वकिलको कार्यालयमार्फत म्याद थपका लागि अदालतमा पेश गरिनेछ, जहाँ प्रहरीले फेरि १० दिनकै म्याद माग गर्ने तयारी गरेको छ।
यद्यपि, थप म्याद स्वीकृत हुने विषयमा अनुसन्धान अधिकारीहरू नै विश्वस्त छैनन्। यदि अदालतले थप म्याद नदिएमा केसीलाई आफन्तको जिम्मामा हाजिर जमानीमा रिहा गर्न सकिनेछ।
हाजिर जमानीमा रिहा भए पनि मुद्दाको कानुनी प्रक्रिया भने निरन्तर जारी रहनेछ। अनुसन्धानका क्रममा प्रहरीले बोलाएको समयमा उपस्थित हुनुपर्नेछ, अन्यथा पुनः पक्राउ गर्न सकिने कानुनी व्यवस्था छ।