इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा चौकीलाई लक्षित गरी गरिएको शक्तिशाली आत्मघाती कार बम आक्रमणमा २७ जनाको मृत्यु भएको छ। मृतकमध्ये १५ जना सुरक्षाकर्मी र १२ जना आक्रमणकारी रहेको पाकिस्तानी सेनाले जनाएको छ।
सेनाका अनुसार अफगानिस्तानसँग सीमा जोडिएको ट्यांक जिल्लामा बिहीबार राति भएको आक्रमणमा विस्फोटक पदार्थले भरिएको सवारीसाधन सुरक्षा चौकीको पर्खालमा ठोक्काएर विस्फोट गराइएको थियो। त्यसपछि सुरक्षाकर्मी र आक्रमणकारीबीच भीषण भिडन्त भएको थियो।
मृत्यु हुने सुरक्षाकर्मीमा १२ सैनिक, दुई प्रहरी र वन विभागका एक कर्मचारी रहेका छन्। सेनाले प्रतिकारका क्रममा आक्रमणमा संलग्न १२ जना लडाकु पनि मारिएको जनाएको छ।
यस आक्रमणको जिम्मेवारी प्रतिबन्धित उग्रवादी समूह तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले लिएको छ। समूहले चार जना आत्मघाती आक्रमणकारी सहभागी भएको दाबी गरेको छ।
घटनापछि पाकिस्तानी सुरक्षा निकायले आसपासका क्षेत्रमा व्यापक खोजी तथा सुरक्षा अभियान सञ्चालन गरेको छ। अन्य आक्रमणकारी वा सहयोगी लुकेर बसेको आशंकामा सुरक्षा सतर्कता पनि उच्च बनाइएको छ।
पछिल्ला केही वर्षयता खैबर पख्तुनख्वा क्षेत्रमा सुरक्षा बल, सरकारी निकाय तथा सर्वसाधारणलाई लक्षित हिंसात्मक घटना बढ्दै गएका छन्। विशेषगरी सन् २०२१ मा अफगानिस्तानमा तालिबान पुनः सत्तामा आएपछि पाकिस्तानमा सक्रिय उग्रवादी समूहहरूको गतिविधि तीव्र बनेको सुरक्षा विश्लेषकहरूको भनाइ छ।
पाकिस्तानले लामो समयदेखि अफगानिस्तानको भूमिबाट आफ्नाविरुद्ध सशस्त्र गतिविधि सञ्चालन भइरहेको आरोप लगाउँदै आएको छ। तर अफगान तालिबान सरकारले उक्त आरोप अस्वीकार गर्दै पाकिस्तानको सुरक्षा चुनौती उसको आन्तरिक विषय भएको बताउने गरेको छ। पछिल्ला महिनाहरूमा दुवै देशबीच सीमावर्ती क्षेत्रमा सैन्य तनावसमेत बढ्दै गएको छ।