राहदानी बनाउन त्रिपुरेश्वरमा घण्टौँ लाइन, दिनभर कुर्दा पनि पालो नपाएको सेवाग्राहीको गुनासो

समाचार

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवा लिन आएका नागरिकले घण्टौँ लाइनमा बस्नुपरेको गुनासो गरेका छन्। विभाग बाहिर बिहानैदेखि लामो लाइन देखिएको छ भने विभागभित्र पनि अत्यधिक भीडका कारण सेवाग्राहीले सास्ती खेपिरहेका छन्।

सेवाग्राहीका अनुसार बिहान ९ बजेदेखि लाइनमा बसे पनि साँझ ५–६ बजेसम्म पालो नआउने, एनआईडी भेरिफिकेसन लगायतका प्रक्रिया ढिलो हुने तथा एउटा कामका लागि पटक–पटक विभिन्न कोठा धाउनुपर्ने अवस्था रहेको छ। कतिपयले दिनभरि विभागमै बिताउँदा पनि काम पूरा गर्न नसकेको बताएका छन्।

सम्बन्धित निकायले नयाँ प्रणाली प्रभावकारी रहेको दाबी गरे पनि विभागमा देखिएको भीड र सेवाप्रवाहले भने सेवाग्राही अझै पनि प्राविधिक समस्या र अव्यवस्थाको मारमा रहेको संकेत गरेको छ।

यसरी दैनिक सयौं सेवाग्राही प्रभावित भइरहेका बेला राहदानी सेवा कहिले सहज बन्छ भन्ने प्रश्न अहिले सर्वसाधारणमा उठ्न थालेको छ।