देवानगञ्ज घटनाको विरोध सिरहासम्म फैलियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

अपराध

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको विरोधमा सिरहामा प्रदर्शन भएको छ।

घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै स्थानीयले सिरहाको गोलबजार नगरपालिका–८ पुरानो चोक (चोहर्वा) मा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा आन्दोलनकारीहरूले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्रीको राजीनामा माग्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले सुनसरी घटनामा संलग्नमाथि कारबाही गर्न, प्रहरी दमन अन्त्य गर्न तथा पीडित परिवारलाई न्याय दिन माग गरेका छन्।

यस्तै, धनगढीमाई नगरपालिका–कसहा क्षेत्रमा पनि केही समय सडक अवरुद्ध गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार आन्दोलनकारीसँगको छलफलपछि करिब आधा घण्टापछि सडक पुनः सञ्चालनमा आएको छ।

सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएपछि उक्त घटनाको विरोधमा सुनसरीसहित विभिन्न जिल्लामा प्रदर्शन भइरहेको छ।

स्थिति थप तनावग्रस्त हुन नदिन तथा कुनै पनि सवारीसाधनमा तोडफोड हुन नदिन सिरहाका विभिन्न राजमार्ग क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।