काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले वर्तमान संवेदनशील परिस्थितिमा राजनीतिक दलहरूबीच साझा धारणा निर्माण गर्न र सामाजिक सद्भाव कायम राख्न सर्वदलीय छलफल गरिएको बताएका छन्।
बुधबार सम्पन्न सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले बैठक सरकारको कामकारबाहीको समीक्षा गर्न नभई पछिल्लो राजनीतिक तथा सामाजिक घटनाक्रमबारे प्रमुख राजनीतिक दलका नेताहरूबीच धारणा, अनुभव र सुझाव आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको स्पष्ट पारे।
उनले रास्वपाका तर्फबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री स्वर्णिम वाग्ले सरकारको प्रतिनिधिका रूपमा सहभागी भएको जानकारी दिँदै, संवेदनशील अवस्थामा सबै राजनीतिक दलले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए।
लामिछानेका अनुसार सरकारले आफ्नो संवैधानिक जिम्मेवारीअनुसार गृह प्रशासन तथा सुरक्षा निकायमार्फत आवश्यक काम गरिरहेको छ। सरकारसँग सम्बन्धित विषयहरू सरकारले आफ्नै कानुनी र प्रशासनिक प्रक्रियाबाट समाधान गर्ने भएकाले अहिले नै राजनीतिक दलहरूले सरकारलाई कुनै विशेष निष्कर्ष वा निर्देशन दिनुपर्ने अवस्था नरहेको उनले बताए।
सुनसरी घटनालगायत पछिल्ला घटनाक्रमप्रति संकेत गर्दै उनले नेपालमा संकटका बेला राजनीतिक दलहरू एकै ठाउँमा उभिएर साझा धारणा सार्वजनिक गर्ने परम्परा रहेको उल्लेख गरे। उक्त परम्परालाई निरन्तरता दिँदै सबै पक्षले संयम, संवाद र सहकार्यलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
लामिछानेले कुनै पनि समुदायविरुद्ध घृणा, द्वेष वा हिंसालाई प्रोत्साहन गर्ने गतिविधिले समग्र देशलाई क्षति पुग्ने चेतावनी दिँदै सबै समुदायबीच आपसी सम्मान, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न राजनीतिक दल, सरकार र नागरिक समाजले समान रूपमा जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिए।