काठमाडौं — नेपाल चिकित्सक संघ ले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडका घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही नभएको भन्दै देशव्यापी आन्दोलन घोषणा गरेको छ।
संघले आज (बुधबार) देशभरका सरकारी तथा निजी अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ। संघका अनुसार घटना भएको चार दिन बितिसक्दा पनि दोषीविरुद्ध मुद्दा दर्ता गरी कारबाही अघि नबढाइएको, पीडित चिकित्सक तथा स्वास्थ्यकर्मीले न्याय नपाएको तथा वार्तामा सहभागी चिकित्सकमाथि स्थानीय प्रशासन र प्रहरीबाट दुर्व्यवहार भएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो।
घोषित कार्यक्रमअनुसार काठमाडौं उपत्यकाका चिकित्सक तथा स्वास्थ्यकर्मी बिहान १० बजे माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गर्नेछन्। उपत्यकाबाहिर भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउने, धर्ना तथा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको संघले जनाएको छ।
संघले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा दोषीलाई कानुनी दायरामा ल्याउन र स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।