काठमाडौं, साउन १७ — सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा जारी गरिएको कफ्र्यु आदेश आज (आइतबार) राति ७ बजेदेखि हटाइने भएको छ। स्थानीय सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षपछि जिल्ला प्रशासन कार्यालय सिरहाले कफ्र्यु हटाउने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल द्वारा जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम लागू गरिएको कफ्र्यु आदेश साउन १७ गते राति ७ बजेदेखि प्रभावहीन हुनेछ।
गोलबजार क्षेत्रमा पछिल्ला केही दिनयता उत्पन्न तनाव र सुरक्षा चुनौतीका कारण प्रशासनले कफ्र्यु जारी गरेको थियो। त्यसपछि सुरक्षा निकायले अवस्था नियन्त्रणमा ल्याएको र जनजीवन क्रमशः सामान्य बन्दै गएको मूल्यांकनका आधारमा कफ्र्यु हटाउने निर्णय गरिएको प्रशासनले जनाएको छ।
प्रशासनले कफ्र्यु हटाइए पनि स्थानीयवासीलाई शान्ति, सद्भाव र सामाजिक सौहार्द कायम राख्न आग्रह गरेको छ। साथै कुनै पनि अफवाहमा विश्वास नगर्न तथा कानुनविपरीत गतिविधिमा संलग्न नहुन सबैसँग अपिल गरिएको छ।
कफ्र्यु हटाउने निर्णयसँगै गोलबजार क्षेत्रको दैनिक जनजीवन, व्यापार–व्यवसाय, यातायात तथा अन्य गतिविधि पुनः नियमित हुने अपेक्षा गरिएको छ।